खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य कृष्ण कार्की आफ्नै घरनजिक मृत अवस्थामा फेला परेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ निवासी ५२ वर्षीय कार्कीको शव गाउँनजिकैको बाँसघारीमा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।
उनी साउने संक्रान्तिका दिन दिउँसो छिमेकीको घर जाने भन्दै घरबाट निस्किएका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य र स्थानीयले खोजी गर्दा उनी बाँसघारीभित्र रहेको खोल्सीमा मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी दिए। उनका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै खुल्ने उनले बताए।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया