काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको भन्दै त्यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने जोखिम रहेको बताएका छन्। उनले जनताको आशा र भरोसा जोगाउन सरकार असफल भए देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका हुन्।
शनिबार काठमाडौंमा पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले आम नागरिक र निजी क्षेत्र दुवैलाई भरोसा दिलाउन नसक्दा निराशा बढ्दै गएको बताए।
उनले पछिल्लो समय व्यापारी र युवाहरूले आत्मदाहजस्ता चरम कदम रोज्न बाध्य हुनु दुःखद भएको उल्लेख गर्दै त्यसमा सरकार पूर्ण रूपमा नभए पनि केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे।
घिसिङले करिब दुई तिहाइ समर्थन प्राप्त सरकारले जनतामा आशा जगाउनुको सट्टा निराशा बढाएको आरोप लगाए। उनले आफूहरूको चाहना सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने भए पनि हालसम्मको कार्यशैलीले त्यस्तो सम्भावना कमजोर देखिएको दाबी गरे।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै क्षणिक लोकप्रियता वा राजनीतिक ‘स्टन्ट’का आधारमा अघि नबढ्ने स्पष्ट पार्दै देशमा उत्पन्न हुने जुनसुकै चुनौती सामना गर्न आफ्नो पार्टी तयार रहेको बताए।
उनले विगतमा अर्को दलसँग एकीकरण गर्नु ठूलो राजनीतिक भूल भएको स्वीकार गर्दै अब कुनै पनि परिस्थितिमा उज्यालो नेपाल पार्टीको पहिचान र अस्तित्व समाप्त हुने गरी अर्को पार्टीसँग एकीकरण नगर्ने स्पष्ट पारे।
घिसिङले वर्षायामपछि देशव्यापी तीनमहिने अभियान सञ्चालन गर्ने घोषणा गर्दै हरेक गाउँपालिका पुगेर नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि पहल गर्ने योजना रहेको जानकारी दिए।
आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गर्दै उनले त्यसपछि हुने संघीय निर्वाचनमा पनि उज्यालो नेपाल पार्टीप्रति जनताको समर्थन अझ व्यापक हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया