काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद पञ्चकर्म र योग सेवाको गुणस्तर तथा पहुँच विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। उनले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई देशकै उत्कृष्ट आयुर्वेदिक उपचार केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

शनिबार बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै मन्त्री मेहताले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा आगामी विकास योजनाबारे जानकारी लिएकी थिइन्। अनुगमनका क्रममा सेवा विस्तार, उपचारको गुणस्तर अभिवृद्धि तथा केन्द्रको समग्र विकासका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल पनि भएको थियो।

मन्त्री मेहताले आयुर्वेद पञ्चकर्म र योग सेवाको प्रभावकारिता तथा केन्द्रका विशेषताबारे आम नागरिकलाई व्यापक रूपमा जानकारी गराउन आवश्यक रहेको बताइन्। उनले प्राकृतिक उपचार प्रणालीप्रति जनविश्वास बढाउन प्रभावकारी प्रचार–प्रसार र सेवाको स्तरोन्नतिमा जोड दिइन्।

केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि मन्त्रालयले आवश्यक नीतिगत, संस्थागत तथा प्रशासनिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

उनले केन्द्र परिसरमा पाइने हर्रो, बर्रो, बोजोलगायतका औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिइन्। यस्ता स्थानीय जडीबुटीको संरक्षण र प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनले बताइन्।

मन्त्री मेहताले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधारका रूपमा थप सुदृढ बनाउँदै गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याइन्।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com