काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग जापानले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा विभागले सांसद शाहीको अभिव्यक्तिले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकको सम्मानमा चोट पुर्याएको उल्लेख गरेको छ।
विभागका अनुसार फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका शाहीका भनाइ अपमानजनक, असंयमित तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेका छन्। जिम्मेवार जनप्रतिनिधिबाट यस्ता अभिव्यक्ति आउनु राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमासँग मेल नखाने विज्ञप्तिमा उल्लेख गरिएको छ।
रास्वपाको जापानस्थित प्रवास नेपाली सम्पर्क विभागले सांसद शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ।
विज्ञप्तिमा समयमै उचित सम्बोधन र क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया