काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले आफ्नो अभिव्यक्तिविरुद्ध जारी गरेको विज्ञप्तिप्रति व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले आफूले व्यक्त गरेका भनाइ आफ्नो दृष्टिमा सत्य भएको दाबी गरेका छन्। उनले ती अभिव्यक्तिलाई लिएर भएको आलोचनाप्रति पनि कटाक्ष गरेका छन्।

शाहीले लामो समयदेखि मनमा दबाएर राखेका केही कुरा अनायास सार्वजनिक भएको उल्लेख गर्दै सत्यलाई जतिसुकै लुकाउन खोजे पनि लुकाउन नसकिने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जति लुकाउन खोजे पनि सत्य लुक्दैन।’ त्यससँगै उनले आफ्ना अघिल्ला अभिव्यक्तिलाई पुनः दोहोर्याउँदै विभिन्न टिप्पणी गरेका छन्।

सांसद शाहीले आफूले जापानमा मदिरा सेवन नगरेको दाबी गर्दै आफ्नो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचना र टिप्पणीप्रति पनि व्यंग्य गरेका छन्। उनले आफूलाई लक्षित गर्दै आलोचना गर्नेहरूलाई सामाजिक सञ्जालमा आफूखुसी प्रतिक्रिया दिन चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिएका छन्।

यसअघि रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, जापानले शाहीको सामाजिक सञ्जालमार्फत व्यक्त अभिव्यक्तिलाई अपमानजनक, असंयमित र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको थियो। साथै, माफी नआए लोकतान्त्रिक, संवैधानिक र कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चाल्ने चेतावनीसमेत दिएको थियो।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com