काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले देशभर सञ्चालनमा रहेका बालसुधार गृहहरूको भौतिक अवस्था, सेवा सुविधा र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल सुधारका लागि आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले ‘बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ ले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै चार बुँदे निर्देशन जारी गरेको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले बालसुधार गृहहरूको व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र बालमैत्री बनाउन सरकारलाई तत्काल कार्ययोजना कार्यान्वयन गर्न आग्रह गरिन्। उनले उपसमितिको प्रतिवेदनमाथि प्राप्त सुझावहरू समेटेर प्रतिवेदनलाई थप परिमार्जन गरी आगामी बैठकमा प्रस्तुत गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

समितिले रुपन्देहीस्थित बालसुधार गृहको भवन साँघुरो र बालबालिकाका लागि अनुपयुक्त रहेको निष्कर्ष निकाल्दै उक्त सुधार गृहलाई तत्काल जिल्ला समन्वय समिति रुपन्देहीको नवनिर्मित भवनमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ।

यसका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समन्वय गरी शीघ्र कार्यान्वयन गर्न पनि समितिले आग्रह गरेको छ।

समितिले बालसुधार गृहहरूमा क्षमता भन्दा बढी बालबालिका राखिँदै आएको र भौतिक पूर्वाधार अपर्याप्त रहेको उल्लेख गर्दै तत्काल वैकल्पिक व्यवस्थापन गर्न निर्देशन दिएको छ। बालबालिकाको उमेर, अवस्था र आवश्यकताअनुसार उपयुक्त वातावरणमा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सचेत गराइएको छ।

त्यसैगरी, बालसुधार गृहमा रहेका बालबालिकाले पाउँदै आएको दैनिक खाद्य खर्च (सिधा) उनीहरूको उमेर र पोषण आवश्यकताअनुसार पर्याप्त नभएको निष्कर्ष निकाल्दै समितिले त्यसमा तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ।

सभापति बास्कोटाले बालबालिकाको पोषण, खाद्य सुरक्षा र समग्र जीवनस्तर सुधारका लागि महिला तथा गृह मन्त्रालयले आवश्यक निर्णय गरी शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com