काठमाडौं। पेट्रोलियम पदार्थमा लगाइएको करको भार घटाएर उपभोक्तालाई राहत दिन माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेको ‘गरी खान देऊ’ अभियानले सरकारले पेट्रोलियममा लाग्ने ६ प्रकारका करमध्ये दुई कर हटाएको भन्दै त्यसलाई जनदबाबको प्रारम्भिक उपलब्धि भएको जनाएको छ।
अभियानका संयोजक तथा जेनजी आन्दोलनका मुख्य प्रतिनिधि मिराज ढुंगानाले सरकारले सडक मर्मत दस्तुर र पूर्वाधार विकास कर हटाउने निर्णय गरेको उल्लेख गर्दै नागरिकको निरन्तर दबाबले सरकारलाई कदम चाल्न बाध्य बनाएको बताए। उनले बाँकी करसमेत पुनरावलोकन गरी हटाउनुपर्ने माग दोहोर्याएका छन्।
केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुंगाना, जेनजी अभियन्ता डा. जगत विक र सामाजिक अभियन्ता सौरभ भण्डारीले ‘महँगीको मारमा सुशासन फरार’ अभियान सार्वजनिक गरेका थिए। अभियानले पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल, प्रदूषण शुल्क, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर र मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्दै महँगी नियन्त्रणका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेको थियो।
अभियानका अनुसार पेट्रोलियममा लगाइएका बहुस्तरीय करका कारण इन्धनको मूल्य निरन्तर बढ्दा त्यसको प्रत्यक्ष असर सार्वजनिक यातायात, ढुवानी, कृषि, उद्योग, खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको छ। महँगीले आम नागरिकको जीवनयापन कठिन बन्दै गएको भन्दै सरकारले कर नीतिमा सुधार नगरे आर्थिक र सामाजिक समस्या झन् गम्भीर बन्ने चेतावनी अभियानले दिएको छ।
ढुंगानाले करको अत्यधिक भारले बेरोजगारी, गरिबी र विदेश पलायनसमेत बढ्ने जोखिम रहेको उल्लेख गर्दै सरकारले नागरिकको आवाजलाई बेवास्ता गर्न नहुने बताए।
चितवनमा ‘गरी खान देऊ’ अभियानका युवाहरूले चौबिसकोठीदेखि लायन्सचोकसम्म मोटरसाइकल नचढाई हातैले डोर्याएर प्रतीकात्मक विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनको नेतृत्व बिशु लामा गुरुङले गरेका थिए। नवलपरासी (सुस्ता पश्चिम)मा पनि युवाहरूले महँगीविरुद्ध प्रदर्शन गरेका थिए।
यस्तै, मकवानपुरमा रोशन दीपको नेतृत्वमा सुनिल सुनार, समर्पण श्रेष्ठ, सन्देश पटेल, अनुराग बरनवाल, आकाश पटेल, रिशभ बानियाँलगायत जेनजी युवाहरूले अभियानलाई समर्थन गर्दै पेट्रोलियम कर घटाउन माग गरेका थिए।
रोशन दीपले पेट्रोलियम पदार्थको मूल्य प्रत्यक्ष नियन्त्रण गर्न नसके पनि करको भार घटाउँदा उपभोक्ताले तत्काल राहत पाउने भएकाले मिराज ढुंगानाले उठाएको अभियान जनहितमा केन्द्रित रहेको बताए।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया