काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै अर्को शक्तिको सहारामा टिकेको राजनीतिक दल नभई आफ्नै संघर्ष, विचार र संगठनात्मक बलमा स्थापित भएको पार्टी भएको बताएका छन्।
आइतबार संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको राजनीतिक यात्रालाई संघर्ष र आत्मनिर्भरताको प्रतीकका रूपमा व्याख्या गर्दै पार्टीलाई ‘लहरो’ होइन, ‘वृक्ष’सँग तुलना गरे।
उनले एमालेले अनेकौं राजनीतिक चुनौती, उतारचढाव, आँधी–हुरी र प्रतिकूल परिस्थितिको सामना गर्दै आफ्नो पहिचान स्थापित गरेको उल्लेख गरे।
“एमाले अरूको सहारामा उभिने लहरो होइन। यो आफ्नै बलमा उम्रिएको, हुर्किएको र अनेकौं आँधी, हुरी, तुफान तथा बाढीको सामना गर्दै बलियो बनेको स्वतन्त्र वृक्ष हो,” ओलीले भने।
अध्यक्ष ओलीले संसद्मा एमालेको भूमिकालाई अझ प्रभावकारी, जिम्मेवार र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जनताका मुद्दालाई सशक्त रूपमा उठाउने दिशामा सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले संसदीय अभ्यासलाई परिणाममुखी बनाउँदै जनविश्वास अझ मजबुत बनाउने जिम्मेवारी एमालेका जनप्रतिनिधिहरूमाथि रहेको पनि उल्लेख गरे।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया