काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले संविधान र कानुनलाई आफ्नो राजनीतिक स्वार्थअनुसार परिमार्जन गर्न खोजेको आरोप लगाएका छन्। उनले कानुन संशोधनका नाममा राज्य संयन्त्रको दुरुपयोग हुने जोखिम बढेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले चालु आर्थिक वर्षभित्र डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने सरकारको तयारी सार्वजनिक भएको उल्लेख गर्दै त्यसको उद्देश्यप्रति गम्भीर प्रश्न उठाए।
उनले कानुन समयानुकूल संशोधन हुनु स्वाभाविक भए पनि त्यसलाई लोकतान्त्रिक मूल्य–मान्यताको सट्टा राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने बताए।
‘कानुनमा सुधार र संशोधन आवश्यक हुन्छ। तर सरकार जुन सोचका साथ अघि बढिरहेको छ, त्यसले गर्ने परिवर्तन कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि भन्ने विषयमा सबै सचेत हुनुपर्छ,’ पोखरेलले भने।
उनले कानुनको दुरुपयोग गर्दै राज्य सञ्चालनलाई स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ लैजाने जोखिम देखिएको दाबी गरे।
महासचिव पोखरेलले सरकारको कार्यसम्पादनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै जनताले अपेक्षा गरेअनुसार परिणाम देखिन नसकेको टिप्पणी गरे। उनले कार्यक्रमकै क्रममा विद्युत् आपूर्तिमा आएको अवरोधलाई उदाहरण दिँदै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए।
‘कामबाहेक केही नगर्ने भन्ने सरकारकै शासनमा विद्युत् समस्याका बीच हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यसले सरकारको काम गर्ने शैली आफैं प्रष्ट पार्छ,’ उनले भने।
पोखरेलले सामाजिक सञ्जाल र भर्चुअल माध्यममा सरकारको प्रचार धेरै भए पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धिमूलक काम हुन नसकेको आरोप लगाए। जनताले ठूलो विश्वासका साथ दिएको जनादेशअनुसार आशा जगाउने काम गर्नुपर्ने सरकारबाट उल्टै असुरक्षा र निराशाको वातावरण बनेको उनको भनाइ थियो।
उनले यस्तो परिस्थितिमा एमाले संसदीय दलले संसद्भित्र अझ प्रभावकारी, सशक्त र जनउत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया