काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति हाबी भएको टिप्पणी गरेका छन्।
आइतबार पार्टीका सांसदहरूलाई आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान, कानुन र संसदीय प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरिएको भए पनि वर्तमान सरकारको उदय नै षड्यन्त्र, हिंसा र अराजकतासँग जोडिएको आरोप लगाए।
उनले लोकतन्त्रमा सरकार परिवर्तन हिंसा, आगजनी, तोडफोड वा असंवैधानिक गतिविधिबाट नभई संवैधानिक र संसदीय प्रक्रियामार्फत हुनुपर्ने बताए।
‘अहिले देशमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक र कानुनी बाटो हुन्छ, तर अहिलेको सरकारको सुरुवात नै षड्यन्त्र र हिंसात्मक गतिविधिसँग जोडिएको छ,’ ओलीले भने।
अध्यक्ष ओलीले पछिल्लो समय लोकप्रियता हासिल गर्ने नाममा ‘पपुलिज्म’को भद्दा अभ्यास भइरहेको टिप्पणी गर्दै त्यसले राजनीतिक संस्कृतिलाई कमजोर बनाएको बताए।
उनका अनुसार वास्तविक नीति र कार्यसम्पादनभन्दा भावनात्मक नारामार्फत लोकप्रिय बन्ने प्रवृत्ति बढ्दै गएको छ, जसले लोकतान्त्रिक प्रणालीलाई नै असर पारिरहेको छ।
सामाजिक सञ्जालको प्रयोगबारे पनि टिप्पणी गर्दै ओलीले दर्ता, उत्तरदायित्व र कानुनी जवाफदेहिताको अभावका कारण त्यसको दुरुपयोग बढेको बताए। उनले सामाजिक सञ्जालमार्फत निराधार, भ्रामक र असत्य सूचना फैलाएर समाजमा अन्योल र भ्रम सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाए।
‘सामाजिक सञ्जाल स्वस्थ बहसको माध्यम बन्न सक्छ, तर जब त्यसमा उत्तरदायित्व र जवाफदेहिता हुँदैन, तब निराधार सूचना फैलाउने र समाजमा विकृति बढाउने माध्यम बन्न पुग्छ,’ उनले भने।
ओलीले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन जिम्मेवार राजनीतिक संस्कृति, तथ्यमा आधारित बहस र उत्तरदायी सार्वजनिक अभिव्यक्तिको आवश्यकता रहेको पनि औँल्याए।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया