पोखरा । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका असन्तुष्टि र गुटगत गतिविधि अन्त्य गर्दै शीर्ष नेताहरूलाई पार्टी कार्यालय सानेपामै बसेर नयाँ पुस्तासँग खुला संवाद गर्न आग्रह गरेका छन्।

प्रजातान्त्रिक विचार समाजले पोखरामा आयोजना गरेको ‘संविधान संशोधनका सुझाव’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै भण्डारीले पार्टीलाई संस्थागत ढंगले एकताबद्ध बनाउन नेतृत्वले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए।

‘आदरणीय वरिष्ठ नेताहरूलाई मेरो आग्रह छ, अब डेरा–डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर युवा नेताहरूसँग बसेर छलफल गरौँ। तपाईंहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिल्यो भने मात्रै पार्टी र देश सही दिशामा अघि बढ्न सक्छ,’ उनले भने।

पछिल्लो समय कांग्रेसभित्र छुट्टाछुट्टै भेला र समानान्तर गतिविधि बढिरहेका सन्दर्भमा उनले असन्तुष्टि पार्टीकै आधिकारिक संयन्त्रमार्फत समाधान गर्नुपर्नेमा जोड दिए। निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालन गरिरहेको अवस्थालाई संकेत गर्दै उनले समानान्तर अभ्यासले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए।

संविधान संशोधनबारे बोल्दै भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र समानुपातिक समावेशी व्यवस्था संविधानका आधारभूत स्तम्भ भएकाले ती विषयमा कुनै सम्झौता गर्न नहुने स्पष्ट पारे।

‘यी आधारभूत विषय हटाइयो भने संविधानको मूल मर्म नै समाप्त हुन्छ। त्यसैले संविधान संशोधन गर्दा उपलब्धि जोगाउँदै व्यवहारिक सुधारतर्फ केन्द्रित हुनुपर्छ,’ उनले बताए।

प्रदेश संरचना खारेज गर्नुपर्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उनले प्रदेश सरकारलाई कम खर्चिलो, चुस्त र प्रभावकारी बनाउन मन्त्रालय तथा सांसदको संख्या पुनरावलोकन गर्न सकिने धारणा राखे।

समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयनमा देखिएका कमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले नातावाद र पहुँचका आधारमा उम्मेदवार चयन गर्ने प्रवृत्तिले प्रणालीप्रति नै अविश्वास बढाएको बताए।

भण्डारीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनको भर नपरी आफ्नै बलमा बहुमत हासिल गर्ने लक्ष्यका साथ तयारी गर्नुपर्ने उल्लेख गर्दै स्थिर सरकार र प्रभावकारी विकासका लागि कांग्रेस बलियो बन्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com