एजेन्सी। फिफा विश्वकप २०२६ को सनसनीपूर्ण फाइनलमा स्पेनसँग १-० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै अस्वाभाविक रूपमा हातपात र कुटाकुटमा उत्रिएका छन्।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियम (न्यू योर्क न्यू जर्सी स्टेडियम) मा अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनका फेररान टोरेसले निर्णायक गोल गर्दै टोलीलाई विश्व विजेता बनाएका थिए। ९०औँ मिनेटमा अर्जेन्टिनाका मुख्य मिडफिल्डर एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिएको अर्जेन्टिना खेलको अन्तिम सिट्ठी बजेलगत्तै मैदानमै अराजक व्यवहारमा उत्रिएको थियो।
रेफ्रीले खेल समाप्तिको सिट्ठी बजाउनेबित्तिकै स्पेनका वैकल्पिक खेलाडीहरू ऐतिहासिक जितको खुसीयाली मनाउन मैदानभित्र दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट दौडिएका एक स्पेनिस खेलाडीको पेटमा मुक्का हानेका थिए।
त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेसले थप हिंसात्मक व्यवहार प्रदर्शन गरे। उनले स्पेनका एरिक गार्सियाको घाँटी अठ्याएको तस्बिरमा स्पष्ट देखिन्थ्यो। पारेडेस यतिमा मात्र रोकिएनन्, उनले अर्का खेलाडी गाभीलाई भुइँमा पछारे, उनको अनुहारमा हातले थिचे र लात्तीले समेत प्रहार गरे।
आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका कप्तान लियोनेल मेसीको नेतृत्वमा अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा थियो। तर, मेसीको सम्मानमा अनुशासित खेल पस्कनुको साटो अर्जेन्टिनी खेलाडीहरूले प्रदर्शन गरेको यस्तो हर्कतले स्पेनको १६ वर्षपछिको दोस्रो ऐतिहासिक जित र खुसीयालीलाई समेत छायामा पारिदिएको छ। यस घटनाको अहिले खेल जगत्मा चौतर्फी आलोचना भइरहेको छ।
उक्त लज्जास्पद दृश्यप्रति टिप्पणी गर्दै पूर्वखेलाडी ग्यारी नेभिलले ‘आईटीभी’ सँग भने, ‘यो एकदमै लज्जास्पद छ। अर्जेन्टिनीहरूको जुझारुपन र मेसीको खेलको म सम्मान गर्छु, तर पछिल्ला केही खेलहरूमा उनीहरूको व्यवहार घृणित रहेको छ।’
त्यस्तै, बीबीसीसँग कुरा गर्दै पूर्वस्ट्राइकर एलन सियररले कडा आपत्ति जनाउँदै भने, ‘पारेडेसले विपक्षीको अनुहारमा कयौँ पटक मुक्का हाने। फुटबलमा यस्तो व्यवहारका लागि कुनै स्थान छैन। हारको पीडा कति हुन्छ भन्ने हामीलाई थाहा छ, तर हार्न पनि एउटा तरिका हुन्छ। अर्जेन्टिनाबाट हामीले पटक–पटक यस्तै नराम्रो व्यवहार देखिरहेका छौँ। खेल सकिएपछिको उनीहरूको यो प्रतिक्रिया भयानक छ।’
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया