काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले एक वर्षको अवधिमा एक हजार १५२ वटा मुद्दा दर्ता भएकोमा ६८० वटा फछ्र्योट भइसकेको र ४७२ वटा अनुसन्धानको क्रममा रहेको जानकारी दिए। साथै, परेका चार हजार ८५० ठाडो उजुरीमध्ये चार हजार ३८० वटाको फछ्र्योट भइसकेको छ।
प्रहरीले भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १८ जनालाई पक्राउ गर्नुका साथै १५५ सवारीसाधन नियन्त्रणमा लिई रु पाँच करोड ९२ लाख ५५ हजारभन्दा बढीको सामान भन्सार कार्यालयमा बुझाएको छ।
अदालतको फैसला कार्यान्वयनतर्फ ४४८ फरार प्रतिवादीलाई पक्राउ गरी ७६ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन र रु ६९ लाख ७१ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ। अवैध हातहतियार नियन्त्रणमा छ थान हतियार, ११ राउन्ड गोलीसहित तीन जना र खोटा मुद्रासम्बन्धी मुद्दामा एक लाख ३६ हजार नक्कली नोटसहित सात जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रणतर्फ ३९ वटा मुद्दामा ५१ जनालाई पक्राउ गरी ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, नशालु एम्पुल र ट्याब्लेट बरामद गरिएको छ। ट्राफिक व्यवस्थापनतर्फ भने वर्षभरि एक हजार ८८ वटा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु र एक हजार ६९६ जना घाइते भएका छन् भने नियम उल्लंघन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गरी रु एक करोड एक लाखभन्दा बढी राजस्व संकलन गरिएको छ।
यसैगरी, हुन्डी तथा स्रोत नखुलेको १३ लाख ६२ हजारसहित चार जना, अवैध सालको काठ र नदीजन्य पदार्थको उत्खनन नियन्त्रणबाट लाखौँ राजस्व असुल गरिएको छ।
एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट एक लाख ३३ हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष सेवा लिएको र सामुदायिक प्रहरी साझेदारीअन्तर्गत १५४ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया