एजेन्सी । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।

जोर्डनस्थित सैन्य बेसमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको ज्यान जानुका साथै अर्का एक जना बेपत्ता भएको भोलिपल्टै इराकमा यो घटना भएको हो।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले खसालिएको इरानी ड्रोनको निष्क्रिय नभएको विष्फोटक पदार्थ नियन्त्रित विष्फोट गराउने क्रममा उक्त सैनिकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ।

सेन्टकमले आफ्नो पछिल्लो विवरणमा जोर्डनमा शुक्रबार भएको आक्रमणस्थलको खोजीका क्रममा ‘अज्ञात अवशेष’ फेला परेको बताएको छ। उक्त अवशेषको पहिचान तथा पुष्टि गर्ने प्रक्रिया जारी रहेको सेन्टकमले थपेको छ।

दोहोरो आक्रमण र तनाव बढेको आठौँ दिन पनि अमेरिका र इरानले एकअर्कामाथि प्रहार जारी राखेका छन्। पछिल्ला दिनहरूमा दुवै पक्षले एकअर्काको महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुर्‍याएको आरोप लगाएका छन्। यसैबिच, प्रारम्भिक युद्धविराम सुरु भएको एक महिनाभन्दा कम समयमै भङ्ग भएपछि वासिङ्टनले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी लगाएको छ भने तेहरानले हर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गर्दै क्षेत्रका अमेरिकी सहयोगीहरूलाई निशाना बनाएको छ।

अमेरिकी सेनाले आफ्ना पछिल्ला आक्रमणहरू जलडमरूमध्यमा व्यापारिक जहाजहरूलाई धम्की दिने इरानको क्षमतालाई कमजोर बनाउन र जोर्डन आक्रमणका लागि जिम्मेवार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्प्स (आईआरजीसी) लाई तुरुन्तै कारबाही गर्न लक्षित रहेको जनाएको छ।

जोर्डनस्थित अमेरिकी सैन्य अखडाभित्रको प्रमाणीकरण गरिएको भिडियोमा कम्तीमा दुई पटक प्रहार भएको र ठूलो विष्फोट भएको देखिएको छ। यस महिनाको सुरुमा बेपत्ता भएका एक अमेरिकी नौसेना पाइलटलाई मृत घोषणा गरिएपछि जारी सङ्घर्षमा अमेरिकी सैनिकको मृत्यु हुनेको कुल सङ्ख्या १७ पुगेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com