काठमाडौं । नक्शालस्थित नेपाल बाल सङ्गठन (बाल मन्दिर) को केन्द्रीय कार्यालयमा रहेको बालगृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार गरिएको छ।

साउन २ गते प्राप्त सूचनाका आधारमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) र बाल हेल्पलाइन (१०९८) को संयुक्त टोलीले अनुगमन गरी उद्धार गरेको हो।

अनुगमनका क्रममा बाल मन्दिर परिसरमा ढल पसेर भवनभित्र पानी जमेको पाइएको थियो। स्वास्थ्य र संरक्षणका दृष्टिले उच्च जोखिममा रहेका १५ दिनदेखि २ वर्ष उमेरसम्मका १२ बालक र ८ बालिका गरी २० जना बालबालिकालाई तत्काल उद्धार गरी अस्थायी संरक्षणमा राखिएको परिषद्ले जनाएको छ।

बालगृहमा हाल १०८ जना बालबालिका आश्रित रहेको जनाइएको छ। उद्धार अभियानमा काठमाडौं महानगरपालिका, महानगर बाल अधिकार समिति, वडा प्रतिनिधि तथा प्रहरी वृत्त मालिगाउँका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी नियमावली, २०७८ र बालगृह सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७९ अनुसार मात्रै बालगृह सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै मापदण्ड उल्लंघन भए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

परिषद्ले प्रदेश तथा स्थानीय बाल अधिकार समिति र सम्बन्धित निकायलाई आफ्नो क्षेत्रभित्र रहेका बालगृहको नियमित अनुगमन, निरीक्षण र आवश्यक सहयोग गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com