काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन सहमतिका आधारमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। तर, देउवा समूहले पार्टी एकताका लागि अघि सारेका पाँचबुँदे प्रस्तावबारे भने उनले कुनै प्रतिक्रिया दिएका छैनन्।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र नेताहरूबीच सबैको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निरन्तर संवाद र छलफल भइरहेको बताए।

उनले पार्टीभित्र जारी छलफल सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै महाधिवेशन सर्वसम्मत वातावरणमा सम्पन्न गराउने प्रयास भइरहेको बताए। यद्यपि, देउवा समूहले सार्वजनिक गरेका पाँच सर्तबारे उनले टिप्पणी गर्न चाहेनन्।

देउवा समूहले आइतबार पत्रकार सम्मेलनमार्फत पार्टीमा एकता कायम राख्न पाँचबुँदे प्रस्ताव अघि सारेको थियो। प्रस्तावमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापतिको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, महाधिवेशनसम्बन्धी समितिमा संस्थापन पक्षको बहुमत सुनिश्चित गर्ने तथा क्रियाशील सदस्यताको विवाद समाधान गरी डिजिटल अभिलेखीकरण गर्ने माग समेटिएको छ।

पत्रकार सम्मेलनमा शर्माले पार्टीभित्र सहमतिका लागि निरन्तर प्रयास भइरहेको दोहोर्याउँदै नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनतर्फ अघि बढाइने बताए।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com