जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई जानकी मन्दिरमा प्रवेश गर्न रोक्ने प्रयासपछि जनकपुरधाममा तनाव उत्पन्न भएको छ। साम्पाङका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा झडपसमेत भएको बताइएको छ।
साम्पाङ आइतबार बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच विवाद र झडप भएको हो।
हिन्दू सम्राट सेनाले यसअघि नै साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै तथा विगतमा गाईको मासुसम्बन्धी दिएको अभिव्यक्तिलाई आधार बनाएर जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो।
घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत जनकपुरधाममा तनावको अवस्था सिर्जना भएको भन्दै गृहमन्त्रीसँग सम्पर्क हुन नसकेको बताएका छन्। उनले ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
त्यसपछि अर्को स्टाटस लेख्दै साम्पाङले आफू जनकपुरधाम पुग्नुअघि नै विभिन्न भ्रम फैलाइएको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘म जनकपुर पुगेकै छैन, लखेटेको भन्ने भ्रम आइसकेछ।’
पछि उनले जानकी मन्दिर परिसरमा आफ्ना पार्टीका कार्यकर्तामाथि दुर्व्यवहार भएको दाबी गर्दै आफूले आइतबार मन्दिर दर्शन गर्न नपाएको बताएका छन्।
‘जानकी मन्दिर परिसरमा हाम्रा श्रमदाताहरूलाई दुर्व्यवहार भएछ। त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भइयो आज। कुनै दिन जानकी देवीले दर्शन दिनुहोला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि पनि साम्पाङले आफूलाई गाईको मासुसम्बन्धी पुरानो अभिव्यक्तिलाई आधार बनाएर मन्दिर प्रवेशमा रोक लगाउन खोजिएको भन्दै प्रश्न उठाएका थिए। उनले लेखेका थिए, ‘गाई कसले खाएको रहेछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें। यो कसले कस्तो राजनीति गर्न खोजेको रहेछ? जय जानकी मन्दिर।’
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार











प्रतिक्रिया