काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, घ्याम्पेडाँडास्थित एक होटलमा फुटबलको विश्वकप फाइनल हेर्ने क्रममा भएको विवादपछि कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएका करिब २७ वर्षीय राज कार्की रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन ४ गते बिहान विश्वकपको फाइनल खेल हेर्न कार्की आफ्ना साथीहरूसँग घ्याम्पेडाँडा पुगेका थिए। उनीहरू थ्री इडिएट्स होटलमा बसेर खेल हेरिरहेका बेला विवाद भएपछि केही समूहबीच कुटाकुट भएको थियो।
कुटपिटमा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार होटलमा समूहमा बसेर खाना खाने क्रममा विवाद सुरु भएको थियो। त्यसपछि तीन–चार समूहबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म करिब ३० जनासँग सोधपुछ गरिसकेको जनाएको छ। यद्यपि, घटनामा संलग्न भएको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन।
मृतक कार्कीको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार उनको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। घटनाबारे प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया