काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दै गएको निराशा र असन्तुष्टि अन्त्य गर्न सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा कांग्रेस नेता गुरु घिमिरेद्वारा लिखित पुस्तक ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ विमोचन कार्यक्रममा बोल्दै शर्माले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउन नहुने धारणा राखे।

गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक मुद्दा बनाएर सरकारलाई घेराबन्दी गर्नेभन्दा पनि मानवीय संवेदनाका रूपमा लिएर समाधान खोज्नुपर्ने उनले बताए।

शर्माले यसअघि प्रेम आचार्यले गरेको आत्मदाहको घटनालाई स्मरण गर्दै राजनीतिक नेतृत्व परिवर्तन भए पनि नागरिकमा व्याप्त निराशा र असन्तुष्टि अन्त्य हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

‘केही दिनअघि गणेश नेपालीको आत्मदाहको घटना भयो। कतिपयलाई लाग्यो होला, गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली कांग्रेसले यसलाई सरकारलाई घेर्ने मुद्दाका रूपमा जबर्जस्त उठाउनेछ,’ उनले भने।

तर, यस्तो घटनालाई कुनै एक दल वा सरकारमाथि दोष थोपर्ने विषय बनाउन नहुने शर्माको भनाइ छ। उनले पुराना दलको नेतृत्वमा प्रेम आचार्यले आत्मदाह गरेको र अहिले नयाँ भनिएका राजनीतिक दलको नेतृत्वमा पनि त्यस्तै घटना दोहोरिनु गम्भीर चिन्ताको विषय भएको बताए।

‘हिजो किन त्यस्तो भयो? आज पनि किन त्यस्तै हुँदैछ? हिजो हामीसँग नागरिक किन असन्तुष्ट थिए? अहिले फेरि निराशा किन बढ्दैछ?’ शर्माले प्रश्न गरे।

उनले नागरिकमा बढ्दै गएको निराशाको कारण पहिचान गरी त्यसको समाधान खोज्नु सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताए।

‘यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन। नेपाली समाजमा यस्तो गम्भीर निराशा किन फैलिँदैछ भनेर गम्भीरतापूर्वक सोच्नुपर्ने बेला हो,’ शर्माले भने, ‘यो निराशासँग जुध्न सरकार र प्रतिपक्ष सबै सँगसँगै उभिनुपर्छ।’

उनले पुराना राजनीतिक दलदेखि नयाँ भनिएका दलसम्मको नेतृत्वमा पनि नागरिकको निराशा अपेक्षाकृत कम हुन नसकेको भन्दै त्यसविरुद्ध सरकार र प्रतिपक्ष मिलेर साझा प्रयास अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com