काठमाडौं । भारतका विपक्षी नेता राहुल गान्धी र उनकी बहिनी प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन्। उनीहरू भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा कार्यकर्तासहित सरकारविरुद्ध विरोधमा उत्रिएका हुन्।

कांग्रेस पार्टीले मंगलबार सार्वजनिक गरेका भिडियोहरूमा राहुल र प्रियंकासहितका नेता–कार्यकर्ताले प्रधानमन्त्री निवासतर्फ मार्च गर्दै प्रदर्शन गरेको देखिएको छ।

राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रधानमन्त्री मोदीसँग युवा विद्यार्थीहरूमाथि भएको कथित दमनबारे जवाफ माग्न आफूहरू प्रदर्शनमा उत्रिएको बताएका छन्।

उनले लेखेका छन्, ‘हामी प्रधानमन्त्री मोदीको निवासमा हिजो युवा विद्यार्थीहरूमाथि भएको क्रूरताबारे उहाँबाट जवाफ माग्न मार्च गरेका छौं।’

राहुलको यो टिप्पणी सोमबार नयाँ दिल्लीमा युवा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपसँग सम्बन्धित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रदर्शनका क्रममा कांग्रेस नेताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विद्यार्थीमाथिको बल प्रयोगको विरोध गरेका थिए। घटनापछि केन्द्र सरकारबाट भने तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com