काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार एमालेका सबै मन्त्रीहरूले आजै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

सोमबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे पनि केन्द्रबाट नयाँ निर्देशन आएपछि निर्णय परिवर्तन गरिएको हो। स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार एमालेका ६ मन्त्रीले प्रदेश सुशासन केन्द्र, जावलाखेल पुगेर सामूहिक रूपमा राजीनामा बुझाउनेछन्। साथै, प्रदेश सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिइने तयारी गरिएको छ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी केन्द्रको निर्देशनअनुसार सरकारबाट अलग हुने निर्णय गरिएको पुष्टि गर्दै आगामी सरकार गठनसम्बन्धी कदम पनि केन्द्रकै निर्देशनअनुसार अघि बढाइने बताए।

हाल कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ मन्त्री छन्।

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको भए पनि सत्ता गठबन्धन भने लामो समय टिक्न सकेन।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com