काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीति प्रतिशोधको भावनाबाट माथि उठेर सहकार्य र एकताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्। स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवाले आफू छिट्टै स्वदेश फर्किने पनि बताएका छन्।

जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका हुन्।

आफ्नो आठ दशक लामो जीवनयात्रा र छ दशकभन्दा बढीको सक्रिय राजनीतिक यात्रालाई स्मरण गर्दै उनले लोकतन्त्र, संविधानवाद र जनताको अधिकारका पक्षमा आफ्नो अडानमा कुनै विचलन नआउने स्पष्ट पारेका छन्।

देउवाले फरक विचार राख्नेहरूप्रति राज्यले देखाउने असहिष्णुता तथा राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्। प्रतिपक्षलाई दबाउन भौतिक तथा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्तिको विरोध गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व भएको उनको भनाइ छ।

सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायमाथि दबाब सिर्जना गर्न खोजेको आरोपसमेत देउवाले लगाएका छन्।

उनले वक्तव्यमा भनेका छन्, ‘दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमा दबाब सिर्जना गर्न थालेको छ, जुन मुलुकको लोकतान्त्रिक प्रणालीका लागि गम्भीर संकेत हो।’

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र आदर्शलाई मार्गदर्शनका रूपमा अघि सार्दै देउवाले अहिले मुलुकलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्यको आवश्यकता रहेको बताए।

विगतका अनुभव र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई एकीकृत गर्दै राष्ट्र निर्माणको साझा संकल्प गर्नुपर्नेमा उनले जोड दिएका छन्।

वक्तव्यको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि दृढतापूर्वक उभिन आफू पुनः नेपाली भूमिमा फर्किन लागेको सन्देश उनले दिएका छन्।

युवा पुस्ता, नागरिक समाज र नेपाली जनताप्रतिको आफ्नो निष्ठा तथा प्रतिबद्धतालाई थप सुदृढ गर्दै आफू स्वदेश फर्किन लागेको देउवाले बताएका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com