काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पदीय जिम्मेवारीको दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमबाट जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियारले मंगलबार अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार प्राधिकरणका विभिन्न ठेक्कापट्टा स्वीकृत गर्न तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए।
अनुसन्धानका क्रममा प्राप्त तथ्यअनुसार अधिकारीले घुसबाट प्राप्त रकम लुकाउने उद्देश्यले आफ्नी श्रीमतीको नाममा ललितपुर महानगरपालिका–१५ मा १३ आना जग्गा खरिद गरेको खुलेको अख्तियारको दाबी छ।
जग्गा खरिदका क्रममा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्र थैली कायम गरी वास्तविक कारोबार रकम लुकाइएको आयोगले जनाएको छ। घुसबापत प्राप्त रकम श्रीमतीको बैंक खातामार्फत कारोबार देखाएर सम्पत्ति शुद्धीकरण गरिएको अख्तियारको आरोप छ।
आयोगले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत छुट्टाछुट्टै कसुरमा सजायको मागदाबी गरेको छ।
भ्रष्टाचार मुद्दामा १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कैद सजाय माग गरिएको छ। साथै, घुसको रकमबाट खरिद गरिएको ललितपुरको १३ आना जग्गा र त्यसबाट बढे–बढाएको सम्पत्ति समेत जफत गर्न अख्तियारले माग गरेको छ।
घुस दिने गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई पनि आयोगले प्रतिवादी बनाएको छ। उनलाई घुस दिएको तथा सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको अभियोगमा अधिकारीसरह बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
अधिकारी राष्ट्रसेवक कर्मचारी रहेको र गम्भीर प्रकृतिको कसुर गरेको भन्दै कानुनबमोजिम थप सजायसमेत माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया