काठमाडौं। कर्णाली प्रदेशका दुर्गम, विपन्न तथा असहाय नागरिकलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘कर्णाली आँखा अस्पताल’ स्थापना अभियान सुरु भएको छ। नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीको अगुवाइमा अघि बढाइएको यस अभियानले कर्णालीमा आधुनिक आँखा उपचार सेवा विस्तार गर्ने उद्देश्य लिएको हो।
अस्पताल स्थापना अभियानका लागि प्रारम्भिक चरणमै एक अमेरिकी सहयोगी तथा शाहीको व्यक्तिगत पहलबाट ११ लाख रुपैयाँ संकलन भएको शाहीले सामाजिक संजालमा उल्लेख गरेका छन् । अभियानलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आगामी दिनमा थप सहयोग जुटाएर अस्पताल निर्माणको कामलाई तीव्र बनाइने योजना रहेको उनको भनाई छ ।
प्रस्तावित अस्पतालमार्फत कर्णालीका नागरिकलाई नियमित विशेषज्ञ आँखा उपचार सेवासँगै निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, औषधि वितरण तथा अन्य आवश्यक आँखा उपचार सेवा प्रदान गर्ने तयारी गरिएको छ । कर्णालीका दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत प्रदेश बाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अभियानको मुख्य लक्ष्य रहेको शाहीले बताए ।
काङ्ग्रेसका युवा नेता शाहीले सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै “कसैको आँखामा उज्यालो भर्नु भनेको अन्धकारमा आशाको दीप बाल्नु हो” भन्ने विश्वासका साथ अभियान सुरु गरिएको बताए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना अभियान अघि बढाइएको हो ।
उनले कर्णाली आँखा अस्पतालमा अनुभवी नेत्ररोग विशेषज्ञ, दक्ष स्वास्थ्यकर्मी तथा आधुनिक प्रविधियुक्त उपकरणमार्फत मोतियाबिन्दु, ग्लुकोमा, दृष्टिदोष लगायत विभिन्न आँखा रोगको गुणस्तरीय, भरपर्दो र सुलभ उपचार सेवा उपलब्ध गराइने जानकारी दिए।
अभियानलाई सफल बनाउन देश–विदेशमा रहेका नेपाली, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा सरोकारवाला सबै पक्षसँग सुझाव, सहयोग र सहकार्यको अपेक्षा गरिएको शाहीले बताए । अभियान सफल भए कर्णालीका हजारौं नागरिकले आफ्नै प्रदेशमा सहज रूपमा विशेषज्ञ आँखा उपचार सेवा प्राप्त गर्ने विश्वास रहेको उनको भनाई छ ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया