काठमाडौं । कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–२६, नरदेवी स्थायी घर भई कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका श्रेष्ठ मंगलबार बिहान आफ्नै बा.५ च ३०३८ नम्बरको कार चलाएर ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए। प्रहरीका अनुसार उनले सडकछेउको खाली ठाउँमा कार पार्क गरेपछि गाडीभित्रै आगो लागेको थियो।
घटनास्थल नजिक रहेका एक प्रत्यक्षदर्शीले आगो देखेपछि कारको अगाडिको ढोका खोल्ने प्रयास गरेका थिए। तर, चालकपट्टिको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछि हटेको दृश्य घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको संयुक्त अनुसन्धानका आधारमा श्रेष्ठले आफैँ कारभित्र आगो लगाएर आत्मदाह गरेको निष्कर्षमा प्रहरी पुगेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानले घटनामा अन्य कसैको संलग्नता पुष्टि गरेको छैन।
प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएपछि श्रेष्ठ चालक सिटमै मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार श्रेष्ठ औषधि व्यवसायी थिए। कोरोना महामारीपछि उनको व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको र त्यसपछि उनी ऋणको भारमा परेका थिए। आर्थिक कठिनाइका कारण पछिल्लो समय उनी मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार आर्थिक संकट र त्यसबाट उत्पन्न तनावका कारण श्रेष्ठले कारभित्रै आगो लगाएर आत्मदाह गरेको हुन सक्ने देखिएको छ।
उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। प्रहरीले यातायात व्यवस्था विभागको अभिलेखका आधारमा उक्त कार २०६२ सालमा नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको र सवारी साधन सुरेशचन्द्र श्रेष्ठ तथा रजनी श्रेष्ठको नाममा दर्ता रहेको जनाएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया