हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत संविधानको धारा १६८(२) तथा पार्टीको निर्णयअनुसार मन्त्रीहरूले तत्काल प्रभावबाट राजीनामा दिएको जानकारी दिएका छन्। पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण राज्यमन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

प्रदेशमा मन्त्रालयको संख्या १४ बाट ८ मा सीमित गरिएपछि केही मन्त्रीहरू जिम्मेवारीविहीन अवस्थामा पुगेका थिए। यसैबीच केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे सहमति बनेपछि पार्टी नेतृत्वले मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएको स्रोतले जनाएको छ।

नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि प्रदेशहरूमा एमाले–नेकपा गठबन्धनमार्फत नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ।

साउन २०८१ देखि कांग्रेस–एमालेको संयुक्त नेतृत्वमा सञ्चालन हुँदै आएको बागमती सरकार करिब दुई वर्षपछि संकटमा परेको हो। एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री बानियाँले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com