काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाली हस्तकला उद्योगको संरक्षण, प्रवर्द्धन र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। हस्तकला व्यवसायलाई रोजगारी सिर्जना, परम्परागत सीपको पुस्तान्तरण तथा राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने नीति अवलम्बन गरिने उनको प्रतिबद्धता छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन्।

छलफलका क्रममा व्यवसायीहरूले हस्तकला सामग्री निर्यातमा हालसम्म स्वघोषणाको आधारमा भइरहेको प्रक्रिया हटाई बिजक मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका थिए। प्रधानमन्त्री शाहले उक्त सुझाव कार्यान्वयनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

त्यसैगरी, हस्तकला निर्यातकर्ताले पाउँदै आएको ५ प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा पनि प्रधानमन्त्रीले त्यसलाई पुनः निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने र सातै प्रदेशमा हस्तकला सीप विकास तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने प्रस्तावमा समेत विशेष चासो देखाएका छन्। निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माणका लागि सहकार्य अघि बढाउने विषयमा पनि उनी सकारात्मक रहेको जनाइएको छ।

महासङ्घका प्रतिनिधिहरूले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताएका थिए।

छलफलमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा वरिष्ठ निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com