काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगनकुमार थापामाथि नेतृत्वमा सबैलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाएका छन्। उनले थापालाई पनि एक्लै पार्टी सञ्चालन गर्न खोज्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित बीपी कोइरालाको ४४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महतले कांग्रेसको नेतृत्व सामूहिक छलफल र सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए।
उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले समेत निर्णय लिनुअघि पार्टीका नेता–कार्यकर्तासँग परामर्श गर्ने गरेको स्मरण गरे। तर पछिल्लो समय नेतृत्वमा सबैलाई समेटेर अघि बढ्नुको सट्टा एकल निर्णय गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।
नेता प्रकाशशरण महतले भने, ‘गिरिजाबाबुले समेत हामीलाई सोध्नुहुन्थ्यो– मलाई यस्तो लागेको छ, अब के गर्ने हो, तिमीहरू भन। तर अहिले सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ। देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, सत्तारूढ दलको नेता पनि एक्लै चलाउन चाहनुहुन्छ। प्राविधिक रूपमा विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएका गगनजीलाई पनि एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ।’
कांग्रेसको मूल विचार र सिद्धान्त नै सामूहिकता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै उनले पार्टीलाई सबैलाई समेटेर अघि बढाउनुपर्नेमा जोड दिए।
‘नेपाली कांग्रेसको विचार यस्तो होइन। कांग्रेसको विधि भनेको सबैलाई जोडेर अघि बढ्ने हो। यही नै नेपाली कांग्रेसको विचार हो,’ महतले भने।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया