काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुश र हुकुमी शैली हाबी हुँदै गएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँस्थित प्रज्ञा भवनमा बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाएका हुन्।
उनले कांग्रेस पनि पछिल्लो समय हुकुमी शासनकै शैलीमा सञ्चालन हुन थालेको आफूले महसुस गरेको बताए।
‘नेपाली कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिरहेको मैले महसुस गरिरहेको छु,’ उनले भने।
कोइरालाले वडा सभापतिहरूलाई कुनै स्पष्टीकरण वा सोधपुछ नगरी पार्टीको अभिलेख अद्यावधिक नगरेको आरोपमा कारबाही गरिएको भन्दै त्यसप्रति आपत्ति जनाए।
‘वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधिक किन नगरेको, किन नगराएको भनेर हटाइएको छ। यो हामी कसैलाई पनि सह्य हुन सक्दैन,’ उनले भने।
नेता कोइरालाले निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको स्थापना भएको स्मरण गर्दै पार्टीभित्रै निरंकुशता हाबी हुन थालेको बताए। उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
‘निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो। तर अहिले कांग्रेसभित्रै निरंकुशता जन्म भइरहेको छ। त्यसको अन्त्य हामीले गर्न जरुरी छ,’ उनले भने।
डा. शेखर कोइरालाले पार्टीको आन्तरिक एकता र संगठन सञ्चालनको विषयमा गम्भीर बन्न सभापति गगन थापालाई आग्रहसमेत गरे।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया