काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा गणतन्त्रका उपलब्धिलाई कमजोर बनाउने उद्देश्यसहित प्रतिक्रान्तिको प्रयास भइरहेको बताएका छन्। उनले यस्ता प्रयासविरुद्ध नयाँ राजनीतिक तथा वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र र परिवर्तनका उपलब्धिको रक्षाका लागि नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताए।

उनले पुष्पलाल श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलनलाई वैचारिक र राजनीतिक आधार प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनका विचार र योगदानलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे।

‘अहिले देशमा प्रतिक्रान्तिको हावा चलिरहेको छ। यसले गणतन्त्रका उपलब्धि र कमरेड पुष्पलालको विचारबाट अघि बढेका परिवर्तनमाथि प्रहार गरिरहेको छ। त्यसका विरुद्ध नयाँ अभियान सञ्चालन गर्ने संकल्प गर्ने दिनका रूपमा यस अवसरलाई लिनुपर्छ,’ प्रचण्डले भने।

उनले सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक संघर्षका लागि पुष्पलालले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै उनको योगदान नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा विशिष्ट रहेको बताए।

प्रचण्डका अनुसार नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी त्यसका लागि आवश्यक वैचारिक तथा राजनीतिक आधार निर्माण गर्ने चुनौतीपूर्ण जिम्मेवारी पुष्पलालले निर्वाह गरेका थिए। उनले पुष्पलालको विचार र योगदानबाट प्रेरणा लिँदै परिवर्तनका उपलब्धिको रक्षा र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com