सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार परिवर्तन हुने सम्भावना बलियो बनेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको हो।
बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसार कांग्रेससँग भएको नयाँ सत्ता सहकार्यलाई निरन्तरता दिँदै प्रस्ताव पारित गराउने रणनीति तय गरिएको हो।
यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको थियो। दुई दलबीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ।
कांग्रेस र नेकपाले मुख्यमन्त्री कँडेलले आलोपालो सरकार सञ्चालनसम्बन्धी पूर्वसहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै असार ३२ गते १६ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमा नेकपाका ११ र कांग्रेसका ५ सांसदको हस्ताक्षर रहेको छ।
गत साता कांग्रेसका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि कर्णालीको राजनीतिक समीकरण फेरिएको थियो। सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा तथा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले पदबाट राजीनामा दिएका थिए।
४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन्। कांग्रेस र नेकपाको संयुक्त समर्थनले अविश्वास प्रस्ताव पारित हुने अंकगणितीय आधार स्पष्ट देखिएकाले मुख्यमन्त्री कँडेलको सरकार ढल्ने र नयाँ सरकार गठन हुने सम्भावना बलियो बनेको छ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया