धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनको माग गर्दै डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्।
डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरमा बिहीबार दिउँसो ३ बजेदेखि सत्याग्रह सुरु गर्न लागेका हुन्। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको नीतिगत विचलन अन्त्य गर्दै सुशासन कायम गर्न दबाब दिने उद्देश्यले सत्याग्रह थाल्न लागेको उनले बताएका छन्।
डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने लक्ष्यसहित मार्गचित्र तय गरे पनि त्यसको कार्यान्वयनमा वर्तमान सरकारले आवश्यक तत्परता नदेखाएको आरोप लगाएका छन्।
उनले सत्याग्रहका क्रममा पाँच प्रमुख माग अघि सारेका छन्। पहिलो मागका रूपमा उनले स्थापित कानुन, नियम तथा मूल्य–मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायत निकायमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्ति तत्काल खारेज गर्नुपर्ने तथा चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्नुपर्ने बताएका छन्।
त्यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिनै निजी मेडिकल कलेजमा विद्यार्थी सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नुपर्ने उनको माग छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने तथा विगतका सरकारसँग भएका लिखित सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
डा. केसीले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन्। नागरिकको अधिकार र राष्ट्रिय आत्मसम्मान सुनिश्चित गर्न आवश्यक पूर्वाधार तथा सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
यसैगरी, २०८२ भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट तथा विनाशका घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने र २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ तथा पदाधिकारीबाट भएका भनिएका भ्रष्टाचार र आपराधिक गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग उनले गरेका छन्।
आफ्ना माग सम्बोधनका लागि सरकारले २०८३ साउन ५ गतेसम्मको समयसीमा बेवास्ता गरेको आरोप लगाउँदै डा. केसीले त्यसकै विरोधमा पुनः सत्याग्रह सुरु गर्न लागेको बताएका छन्।
‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका लागि सरकारको संवेदनहीनताका कारण साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु,’ उनले भनेका छन्, ‘यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ।’
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया