काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती फनपार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा अनियमितता गरेको आरोपमा मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी, बानेश्वर, काठमाडौंलाई समेत प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सर्लाहीको बागमती नगरपालिका–११ मा सञ्चालित बागमती फनपार्क एन्ड रिसोर्टको दोस्रो चरणको निर्माणमा सार्वजनिक खरिद प्रक्रिया मिचेको, लागत अनुमान अस्वाभाविक रूपमा बढाएको, सीमित निर्माण व्यवसायीलाई लाभ पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा आयोजनाको दोस्रो चरणको निर्माणका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दा पहिलो चरणको मूल डीपीआरमा समावेश नभएका विभिन्न संरचना थप गरी लागत अनुमान बढाइएको थियो।

त्यस्तै, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कनका आधार तय गरिएको र निश्चित निर्माण व्यवसायीलाई लाभ पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको अख्तियारको अनुसन्धानबाट खुलेको दाबी छ।

आयोगका अनुसार पहिलो चरणको डीपीआरको आवश्यक पुनरावलोकन नगरी दोस्रो चरणको डीपीआर तयार गरिएको थियो। आयोजनामा थप संरचना समावेश गर्नुअघि त्यसको आवश्यकता, सम्भावित जोखिम तथा आर्थिक सम्भाव्यताको पर्याप्त अध्ययनसमेत नगरिएको अख्तियारको भनाइ छ।

सार्वजनिक खरिद ऐनविपरीत मूल्याङ्कनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलेमतोमा ठेक्का सम्झौता गरिएको आरोपसमेत प्रतिवादीहरूमाथि लगाइएको छ।

त्यसैगरी, बिकोई/धुलिखेल जेभीका आधिकारिक प्रतिनिधिले ठेक्का मूल्याङ्कनका क्रममा झुटा तथा किर्ते कागजात पेस गरी ठेक्का प्राप्त गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

आयोगले उक्त कार्यबाट सार्वजनिक सम्पत्तिमा ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बराबरको हानिनोक्सानी भएको दाबी गरेको छ। सोही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूलाई सजाय गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com