काठमाडौं । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै प्रहरीले सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना तिराएको हो।
सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित गुप्ताले मोटरसाइकलमा स्टन्ट शैलीमा यात्रा गरेको भिडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन्।
बाल्यकालमा खेल्ने गरेको स्थानमा पुग्दा पुराना सम्झना ताजा भएको र त्यही खुसीको क्षणमा रमाइलो गर्ने क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको उनले बताएका छन्।
‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा आफैँ महसुस गरेको छु,’ उनले भनेका छन्।
आफूबाट गल्ती भएको स्वीकार गर्दै सांसद गुप्ताले आगामी दिनमा आफ्नो ऊर्जा र उत्साह देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया