काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफ्नो पार्टीको प्राथमिकता सरकार गठन गर्नु नभई राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि आन्दोलन अघि बढाउनु रहेको स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले २०८४ सालमा हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनपछि मात्रै सरकार गठनबारे सोच्न सकिने बताए।
उनले विगतमा कहिले कांग्रेस, कहिले एमाले र कहिले अन्य दलसँग सत्ता सहकार्य गर्दैमा लामो समय बितेको उल्लेख गर्दै अब त्यस्तो अभ्यासबाट बाहिरिनुपर्ने धारणा राखे।
‘हामीले कहिले कांग्रेससँग, कहिले एमालेसँग र कहिले मधेसी दलसँग सहकार्य गर्दागर्दै हाम्रा धेरै वर्ष बिते। जनता पनि त्यसै विषयमा अलमलमा परे,’ प्रचण्डले भने।
उनले अहिले नेकपाका लागि सरकारभन्दा साझा न्यूनतम कार्यक्रम निर्माण गरी आन्दोलन अघि बढाउनु महत्वपूर्ण रहेको बताए। ‘हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य हो। त्यसैले अहिले हाम्रो ध्यान सरकारतिर छैन,’ उनले स्पष्ट पारे।
प्रदेश सरकारको विषयमा भने कांग्रेस र एमालेबीचको विवादका कारण आफूहरूलाई हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भएको प्रचण्डले बताए। कांग्रेस र एमालेले नै सबै प्रदेशमा सरकार चलाइरहेको अवस्थामा आफूहरूले सरकार सञ्चालनमा चासो नराखेको उनको भनाइ थियो।
तर बजेट पारित गर्न नसक्ने अवस्था आएपछि प्रदेश सरकार नै संकटमा पर्ने देखिएकाले त्यसलाई निकास दिन आफूहरू बाध्य भएको उनले बताए।
‘हामीले सुरुदेखि नै कांग्रेस र एमालेको सरकार सबै प्रदेशमा छ, तपाईंहरू नै चलाइराख्नुस्, हामीलाई चाहिँदैन भन्दै आएका थियौँ। तर बजेटकै समयमा कांग्रेस र एमालेबीच विवाद बढेर बजेट पास गर्न नसक्ने अवस्था आयो,’ उनले भने, ‘प्रदेशलाई नै बरबाद हुन दिनु हुँदैन भनेर हामीले ध्यान दिनुपर्ने अवस्था आइलाग्यो।’
प्रचण्डले पुनः दोहोर्याउँदै भने, ‘हामीलाई अहिले सरकार चाहिएको छैन। नेपाली कम्युनिस्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन। अहिलेको आवश्यकता राष्ट्रिय स्वाधीनता र जनताको हक–अधिकारका लागि आन्दोलन हो।’
उनले वामपन्थी शक्तिबीच सहकार्य सरकारमा सहभागी भएपछि मात्र सम्भव हुन्छ भन्ने मान्यता आफूले नराखेको बताए। तर प्रदेश सरकार, संविधान वा समग्र राजनीतिक प्रक्रियामा गम्भीर समस्या उत्पन्न भए त्यसको निकास खोज्न र गाँठो फुकाउन आफ्नो पार्टी सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया