काठमाडौं । नेपालबाट स्वदेशी कच्चा पदार्थ ठूलो परिमाणमा भारततर्फ निकासी हुन थालेको भन्दै निर्यातमुखी उद्योगी–व्यवसायीहरूले नेपाली उद्योगको भविष्यमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद घिमिरे नेतृत्वको उद्योगी–व्यवसायीको टोलीले कच्चा पदार्थको बढ्दो निकासी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

भेटमा समग्र निर्यात क्षेत्रको अवस्था तथा विशेषगरी प्लाइउड, गलैँचा र पश्मिना उद्योगले भोगिरहेका समस्या र चुनौतीबारे प्रधानमन्त्रीसँग विस्तृत छलफल भएको अध्यक्ष घिमिरेले बताए।

छलफलका क्रममा घिमिरेले नेपालमा उत्पादित कच्चा पदार्थ ठूलो मात्रामा भारततर्फ निकासी भइरहेको तथ्यांकसमेत प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

उनका अनुसार भारतीय प्लाइउड उद्योगका प्रतिनिधिहरू नेपालमै आएर साना उद्योग स्थापना गर्ने र स्थानीय कच्चा पदार्थ भारत लैजाने क्रम बढ्दो छ। यसले नेपालमै तयारी वस्तु उत्पादन गर्ने प्लाइउड उद्योगहरूलाई भविष्यमा कच्चा पदार्थको अभाव हुन सक्ने जोखिम बढाएको उनले बताए।

‘भारतीय प्लाइउड उद्योगका प्रतिनिधिहरू नेपालमै आएर साना उद्योग स्थापना गर्ने र यहाँको कच्चा पदार्थ भारत लैजाने क्रम बढेको छ,’ घिमिरेले भने, ‘यसले गर्दा नेपालमै तयारी वस्तु उत्पादन गर्ने प्लाइउड उद्योगले भविष्यमा कच्चा पदार्थको चरम अभाव झेल्नुपर्ने अवस्था आउन सक्छ।’

उनले कच्चा पदार्थको अनियन्त्रित निकासीलाई निरुत्साहित गर्दै नेपालमै ठूला उद्योग स्थापना र विस्तारका लागि सरकारले आवश्यक नीति तथा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखे।

उद्योगी–व्यवसायीका समस्या सुनेपछि प्रधानमन्त्रीले तत्काल समाधान गर्न सकिने विषयमा सम्बन्धित सचिवलाई आवश्यक निर्देशन दिएको घिमिरेले बताए। कानुन तथा ऐन संशोधन आवश्यक पर्ने दीर्घकालीन प्रकृतिका समस्या पनि क्रमशः सम्बोधन गर्दै जाने आश्वासन प्रधानमन्त्रीबाट प्राप्त भएको उनको भनाइ छ।

बजेट कार्यान्वयनको चरण सुरु भइसकेकाले तत्कालै सबै नीतिगत परिवर्तन सम्भव नभए पनि स्वदेशी कच्चा पदार्थ बाहिरिने क्रमलाई कसरी रोक्ने र नेपालको समग्र निर्यात प्रवर्द्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक निकास खोज्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको घिमिरेले बताए।

भेटमा नेपाल गलैँचा उत्पादक संघ र पश्मिना उत्पादक संघका प्रतिनिधिहरूले समेत आ–आफ्ना उद्योगका समस्या र माग प्रधानमन्त्रीसमक्ष राखेका थिए।

करिब ३० देखि ४५ मिनेटका लागि तय गरिएको भेटघाट डेढ घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको सकारात्मक धारणा र समस्या समाधानप्रतिको तत्परताबाट उद्योगी–व्यवसायी उत्साहित भएको अध्यक्ष घिमिरेले बताए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com