काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू जनताको समस्या बुझ्न र वास्तविक अवस्था निरीक्षण गर्न छड्के अनुगमनमा जाने गरेको भए पनि त्यसलाई लिएर ‘गृहमन्त्री गायब’ भएको समाचार आउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार भारतीय सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षा अवस्थाबारे संसदीय समितिमा भएको छलफलमा बोल्दै गृहमन्त्री गुरुङले आफू मन्त्रालयको काम छाडेर कतै नहराउने स्पष्ट पारे।
‘म छड्के जान्छु, सुरक्षा लिएर गइनँ, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ। म त मन्त्रालयमै हुन्छु,’ उनले भने।
गृहमन्त्री गुरुङले जनताका समस्या र सीमावर्ती क्षेत्रको वास्तविक अवस्था बुझ्न आफू आफैँ स्थलगत अनुगमनमा जाने गरेको बताए। सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आवश्यक पहल भइरहेको जानकारी दिए।
उनले सीमावर्ती क्षेत्रमा देखिएका समस्याको तत्कालीन समाधानसँगै दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया