काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको बताएका छन्।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र वर्तमान चुनौतीको सामना गर्न कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका हुन्।
उनले पछिल्लो समय कम्युनिस्ट आन्दोलनले धक्का बेहोरेको उल्लेख गर्दै आन्दोलनलाई पुनः एकताबद्ध र सुदृढ बनाउनुपर्नेमा जोड दिए। कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्दै मुलुकको नेतृत्व गर्ने सङ्कल्प गर्ने समय आएको उनको भनाइ थियो।
प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि देखिएको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनसामु उत्पन्न असाधारण चुनौतीको सामना गर्न र वामपन्थी शक्तिलाई एकताबद्ध गर्न आवश्यक रहेको बताए।
उनले देशमा निरङ्कुश प्रवृत्ति देखिन थालेको दाबी गर्दै त्यसविरुद्ध फेरि एकपटक सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार













प्रतिक्रिया