काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार गरी दुर्व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि कालोमसी प्रहार गरिएको रास्वपाले जनाएको छ।

लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध जनाउने अधिकार सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार स्वीकार्य नहुने रास्वपाको भनाइ छ। यस्ता घटनाले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सभ्य राजनीतिक अभ्यासमाथि प्रहार गर्ने दलले जनाएको छ।

रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ। साथै, घटनाको सत्यतथ्य सार्वजनिक गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न पनि उसले आग्रह गरेको छ।

संसदीय दलले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने स्पष्ट पारेको छ।

 

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com