काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनले पछिल्लो समय धक्का बेहोरे पनि त्यसबाट निराश नभई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले चुनौतीहरूलाई सामना गर्दै आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।
उनले इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका योद्धाहरूको त्याग र संघर्षकै कारण नेपाली कम्युनिस्ट आन्दोलन वर्तमान अवस्थामा आइपुगेको उल्लेख गरे। अब विगतबाट प्रेरणा लिएर वर्तमान चुनौती चिर्दै आन्दोलनलाई नयाँ गतिका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
‘आजको अवस्थामा आइपुग्दा हामीले अलिकति धक्का त खानुपरेको छ,’ नेपालले भने, ‘तर लडेपछि धुलो टकटक्याएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
नेपालले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै विभिन्न चुनौती र प्रतिबन्धका बीच तत्कालीन नेताहरूले आन्दोलनलाई निरन्तरता दिएको स्मरण गरे।
संस्थापक नेता नरबहादुर कर्माचार्यलाई मजदुर फाँटको जिम्मेवारी दिइएको प्रसङ्ग उल्लेख गर्दै उनले अन्य नेताहरूलाई किसान र महिला फाँटको जिम्मेवारी दिएर आन्दोलन विस्तार गरिएको बताए।
‘इतिहासका ती १०१ योद्धाहरू सक्रिय भएकैले कम्युनिस्ट आन्दोलन अगाडि बढेको हो,’ उनले भने।
पूर्वप्रधानमन्त्री नेपालले संस्थापक नेताहरूको त्याग, संघर्ष र ऐतिहासिक योगदानबाट प्रेरणा लिएर आगामी दिनमा कम्युनिस्ट आन्दोलनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउनुपर्ने बताए।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार













प्रतिक्रिया