काठमाडौं । अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई स्वागत गर्दै यसलाई ‘लोकतन्त्रको जित’ भएको बताएका छन्।

शनिबार प्रतिक्रिया सार्वजनिक गर्दै वाङचुकले क्रोच जनता पार्टी (सीजेपी), जेनजी तथा देशभरका नागरिकले खेलेको भूमिकाको प्रशंसा गरे। उनले शान्तिपूर्ण आन्दोलन, धैर्य र दृढ सङ्कल्पका कारण सरकारमाथि जनउत्तरदायित्व कायम गर्न दबाब सिर्जना भएको बताए।

‘यो लोकतन्त्रको जित हो। प्रत्यक्ष लोकतन्त्रको यस्तो स्वरूप, जुन सीधै सडकबाट आएको छ। यो शान्ति, धैर्य र दृढ सङ्कल्पको जित हो,’ उनले भने।

वाङचुकले सीजेपी र जेनजी पुस्तालाई बधाई दिँदै डर र त्रासलाई पन्छाएर देशभरबाट आवाज उठाउने नागरिकप्रति आभार व्यक्त गरे। उनले अब जवाफदेहितासँगै सुधारको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।

यसैबीच, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि शिक्षामन्त्रीको राजीनामालाई लिएर प्रतिक्रिया दिएका छन्। उनले विद्यार्थी तथा युवाको आन्दोलनलाई ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले युवासँग माफी माग्नुपर्ने माग गरेका छन्।

खड्गेले विद्यार्थी र युवाको आवाज अन्ततः सरकारसम्म पुगेको दाबी गर्दै यसलाई देशभर शिक्षा प्रणाली सुधारको मागसहित सडकमा उत्रिएका युवाहरूको जितका रूपमा चित्रण गरे।

उनले सरकारको कार्यशैलीको आलोचना गर्दै विद्यार्थी आन्दोलनमाथि बल प्रयोग गरिएको आरोपसमेत लगाए। युवामाथि लाठी, डन्डा र पेलेट गन प्रयोग गर्न आदेश दिनेहरूमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ।

खड्गेले विद्यार्थी आन्दोलनलाई समर्थन गर्ने विपक्षी दलहरूको भूमिकालाई पनि उल्लेख गर्दै संसद् र सडक दुवैबाट युवाको पक्षमा आवाज उठाइएको बताए। साथै उनले प्रधानमन्त्री मोदीले युवा पुस्तासँग माफी माग्नुपर्ने र आन्दोलनका क्रममा बल प्रयोग गर्नेहरूमाथि कारबाही गर्नुपर्ने माग दोहोर्‍याए।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com