काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले डा. गोविन्द केसीले उठाएका मागहरूको समाधान संवाद र सहमतिमार्फत खोज्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले सरकार समस्याको छिटो र सहमतिपूर्ण निकास निकाल्ने पक्षमा रहेको उल्लेख गरेका छन्। उनले शुक्रबार साँझ आफूले डा. केसीसँग टेलिफोनमा प्रारम्भिक संवाद गरेको जानकारी दिँदै त्यसलाई औपचारिक वार्तामा रूपान्तरण गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि शर्मालाई धनगढी पठाइएको बताए।
पोखरेलले फेसबुकमा लेखेका छन्, ‘शुक्रबार साँझ डा. गोविन्द केसीज्यूसँग मेरो टेलिफोन संवाद भएको थियो। सोही संवादलाई औपचारिक रूपमा अघि बढाउने उद्देश्यले मन्त्रालयका सचिव चूडामणि शर्माज्यू प्रत्यक्ष छलफलका लागि धनगढी जानुभएको छ।’
उनले सरकार संवादको वातावरणलाई सकारात्मक ढंगले अघि बढाउँदै डा. केसीका मागमा यथाशीघ्र सहमति जुटाउने प्रयासमा केन्द्रित रहेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार













प्रतिक्रिया