काठमाडौं । यमनस्थित हुथी विद्रोही समूहले साउदी अरेबियामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। आक्रमणको मुख्य लक्ष्य जिजानस्थित औद्योगिक क्षेत्र र विश्वकै ठूलो तेल कम्पनी अरामकोसँग सम्बन्धित ऊर्जा पूर्वाधार रहेको बताइएको छ।

आक्रमणपछि जिजान क्षेत्रमा विस्फोट भएका छन् भने केही स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको जनाइएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै साउदी अधिकारीहरूले यान्बु प्रान्तका बासिन्दाका लागि ‘नेसनल अर्ली वार्निङ प्लेटफर्म’मार्फत आपत्कालीन सतर्कता जारी गरेका छन्।

प्राप्त विवरणअनुसार मिसाइल र ड्रोन आक्रमणका कारण जिजान, यान्बु र दमाद क्षेत्र प्रभावित भएका छन्। ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरिएको हमलापछि साउदीको तेल तथा औद्योगिक सुरक्षालाई लिएर थप चिन्ता उत्पन्न भएको छ।

यो आक्रमण साउदी अरेबियाले शुक्रबार राति हुथीको नियन्त्रणमा रहेको यमनको होदेदा क्षेत्रमा गरेको हवाई कारबाहीपछि भएको हो। उक्त आक्रमणपछि हुथी पक्षले साउदीले त्यसको “महँगो मूल्य चुकाउनुपर्ने” चेतावनी दिँदै कडा प्रतिकार गर्ने घोषणा गरेको थियो।

हुथीसम्बद्ध अल–मसिराह टेलिभिजनका अनुसार साउदीको हवाई आक्रमणमा होदेदास्थित दूरसञ्चार प्राधिकरणको भवन र कमारान टापु लक्षित भएका थिए। त्यस घटनामा एक महिला घाइते भएको पनि जनाइएको छ।

पछिल्ला घटनाक्रमले साउदी–यमन द्वन्द्व थप चर्किने संकेत देखिएको छ भने मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था र ऊर्जा आपूर्तिमाथि यसको प्रभावलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com