काठमाडौं । सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । सोही स्थानमा २६ वटा बोरामा रहेको करिब १३ क्विन्टल अदुवा पनि फेला परेको थियो ।

घटनामा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजा, पिकअप गाडी तथा पक्राउ परेका अमरजित राउतलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com