काठमाडौं । शनिबार साँझ चालकसहित भोटेकोसी नदीमा खसेको विद्युतीय सवारीसाधन र बेपत्ता चालकको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
खोजी तथा उद्धारमा परिचालित सुरक्षाकर्मीको मनोबल बढाउन गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुगेका छन्। उनले घटनास्थलको निरीक्षण गर्दै खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका छन्।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार घटनास्थलको स्थलगत निरीक्षणपछि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी गोताखोरसहित खोजीमा परिचालन भएका छन्। खोजी कार्यका लागि १० वटा ड्रोनसमेत प्रयोगमा ल्याइएको छ।
भोटेकोसीमा खसेको सवारीसाधनका चालक कालिका गाउँपालिका–३, तल्लो धारापानीका २२ वर्षीय सविन तामाङ रहेको जनाइएको छ। उनको खोजीका लागि सुरक्षा निकायका टोलीले नदी आसपासको क्षेत्रमा व्यापक रूपमा खोजी गरिरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धार कार्यको समन्वय गरिरहेको छ। दुर्घटनास्थलमा नदीको गहिरो खोँच, धमिलो पानी तथा किनारमा रहेका ठूला चट्टानका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको समितिले जनाएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया