काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिन जिल्लाको दक्षिणी क्षेत्रका पाँच बजारमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रहरीका अनुसार आइतबार राति करिब १०:१५ बजे साउने सोमबारको अवसरमा कोशी नदीमा जल चढाउन डिजे बाजासहित गइरहेका युवाहरू र स्थानीय केही व्यक्तिबीच चर्को आवाजमा बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। सामान्य भनाभनले केही समयमै उग्र रूप लिएपछि दुवै पक्षबीच ढुंगामुढा र आक्रमण भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्काल परिचालन गरिएको थियो। तर झडप थप हिंसात्मक बन्दै गएपछि प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड गोलीसमेत चलाएको स्थानीयले बताएका छन्।

घटनामा देवानगञ्ज–३ निवासी ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। साथै झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सर्वसाधारण गरी २४ जना घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार घाइतेमध्ये नेपाल प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना, सशस्त्र प्रहरीका ५ जना र ९ जना सर्वसाधारण रहेका छन्। उनीहरूको विराटनगर र सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटना नियन्त्रणका क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राई पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र पाँच वटा टाँका लगाउनुपरेको प्रहरीले जनाएको छ।

तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै घटनास्थल र आसपासका क्षेत्रमा २११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। थप अप्रिय घटना हुन नदिन सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरेका छन्।

सोमबार बिहान ७ बजेदेखि प्रभावकारी भएको कर्फ्यु अवधिमा हिँडडुल, सभा, जुलुस, भेला तथा अन्य सार्वजनिक गतिविधिमा रोक लगाइएको छ। साथै हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा निषेधाज्ञा पनि जारी गरिएको छ।

प्रहरीका अनुसार हाल अवस्था नियन्त्रणमा रहेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने शान्ति–सुरक्षा कायम राख्न उच्च सतर्कता अपनाइएको जनाइएको छ।

 

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com