काठमाडौं । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा निकायको भूमिकामाथि निष्पक्ष छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सोमबार गृहमन्त्री सुझन गुरुङलाई भेट्दै सांसद साहले साउने सोमबारको बोलबम यात्राका क्रममा भएको दुई समुदायबीचको झडपमा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु र आठ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले उल्लेख गरेका छन्।
सांसद साहले घटनाको रोकथाम र नियन्त्रणमा प्रशासन तथा सुरक्षा निकायले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी) र सम्बन्धित डीएसपीको भूमिकामाथि निष्पक्ष छानबिन गरी आवश्यक देखिए निलम्बनसहित कारबाही गर्न माग गरेका छन्।
उनले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
सांसद साहले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन, आवश्यक नीतिगत तथा संस्थागत सुधार गर्न र सुनसरीसहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न विशेष पहल गर्न गृह मन्त्रालयसँग अनुरोध गरेका छन्।
साथै, घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक गरी पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले तत्काल प्रभावकारी कदम चाल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया