तेहरान । क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि भएको आक्रमणपछि इरानले युक्रेनलाई कडा चेतावनी दिँदै घटनाको जवाफ दिइने स्पष्ट संकेत गरेको छ।
इरानको गिलान प्रान्तका गभर्नर हादी हक–शेनासका अनुसार आक्रमणमा एक नाविकको मृत्यु भएको छ भने चालक दलका अन्य तीन सदस्य घाइते भएका छन्। फलाम बोकेको उक्त जहाज रुसको अस्त्राखान बन्दरगाहबाट इरानको अन्जाली बन्दरगाहतर्फ जाँदै थियो।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अज्जिजीले सामाजिक सञ्जाल एक्समार्फत कुनै पनि आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। उनले अमेरिका र इजरायलले इरानको प्रतिकार क्षमताबारे जानकार रहेको उल्लेख गर्दै अब युक्रेनले पनि त्यसको परिणाम भोग्नुपर्ने बताएका छन्।
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै इरानी व्यापारिक जहाजमाथिको आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रविपरीतको कार्य भएको बताएका छन्। उनले यस घटनामा इजरायलको प्रभाव रहेको आरोपसमेत लगाउँदै इरानले यसको उचित जवाफ दिने चेतावनी दिएका छन्।
यता, युक्रेनले क्यास्पियन सागरमा इरानबाट रुसतर्फ सैन्य सामग्री ढुवानी गरिरहेका जहाजलाई निशाना बनाएको स्वीकार गरेको छ। राष्ट्रपति जेलेन्स्कीले लामो दूरीको उक्त आक्रमण सफल भएको दाबी गर्दै सैन्य सामग्री बोकेका जहाज र एक युद्धपोतलाई लक्ष्य बनाइएको बताएका छन्।
यसैबीच, इरानी अधिकारीहरूले हालै अमेरिकाले पनि क्यास्पियन क्षेत्रमा रहेका इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का केही नौसैनिक पूर्वाधारमाथि हवाई आक्रमण गरेको आरोप लगाएका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया