काठमाडौं । अमेरिका र इरानबीच दुई सातादेखि जारी सैन्य तनाव केही मत्थर बन्दै जाँदा दुवै पक्षले लगातार दोस्रो दिन प्रत्यक्ष आक्रमण रोकेका छन्। यससँगै ओमानको मध्यस्थतामा अन्तरिम युद्धविरामका लागि कूटनीतिक प्रयास तीव्र बनेको छ।
कूटनीतिक स्रोतहरूका अनुसार ओमानको पहलमा अमेरिकी र इरानी प्रतिनिधिहरूबीच राजनीतिकदेखि प्राविधिक तहसम्म वार्ता जारी छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अनुकूल वातावरण बनाउन सैन्य कारबाही रोकिएको बताएका छन्।
इरानी सेनाले पनि अमेरिकाबाट आक्रमण रोकिएपछि आफ्ना सैन्य गतिविधि अस्थायी रूपमा स्थगित गरिएको पुष्टि गरेको छ।
युद्धविरामको सम्भावनाबीच इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईले भने कडा सन्देश दिएका छन्। सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले लेबनानको क्षेत्रीय अखण्डताको रक्षा र इजरायली सैन्य कारबाहीको पूर्ण अन्त्यलाई युद्ध रोक्ने प्रमुख शर्तका रूपमा अघि सारे।
खामेनेईले अमेरिका र इजरायलविरुद्ध प्रतिरोधलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै ‘जिहाद’को आह्वान गरेका छन्। उनले विश्वका धेरै देश अमेरिकी र इजरायली नीतिबाट असन्तुष्ट रहेको दाबी गर्दै प्रतिरोध नै समाधानको मार्ग भएको बताएका छन्।
यसअघि होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिकाले इरानका तटीय क्षेत्र र रणनीतिक पूर्वाधारमा लगातार सैन्य प्रहार गरेको थियो।
यसैबीच, अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच अगस्ट ४ मा इटालीमा अर्को चरणको वार्ता हुने तय भएको छ। वार्तामा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र त्यहाँ लेबनानी सेना परिचालन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु मङ्गलबार वासिङ्टन पुगेर राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेतन्याहुले इरानको आणविक कार्यक्रम रोक्ने अमेरिकी प्रयासलाई समर्थन गर्दै कूटनीतिक समाधान सम्भव भए त्यसलाई स्वागत गर्ने बताएका छन्। तर इरान वा उसका समर्थित समूहबाट इजरायलमाथि पुनः आक्रमण भए कडा जवाफ दिइने चेतावनीसमेत उनले दिएका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार












प्रतिक्रिया