काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डलाई लिएर गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाउँदै राजीनामा माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले संसद्मा गृहमन्त्रीले व्यक्त गरेको भावुकता र संसद्बाहिर आएको अभिव्यक्तिबीच विरोधाभास देखिएको आरोप लगाए।
उनले प्रतिनिधिसभाको रोष्ट्रममा भावुक हुँदै नागरिकमाथि गोली चलेकोमा दुःख व्यक्त गर्ने तर बाहिर आएपछि गोली लागेर घाइते भएका वा मृत्यु भएका व्यक्तिलाई नै घटनाको दोषी देखाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।
‘संसद्को रोष्ट्रममा सुँक्कसुँक्क गर्दै रुने, सभा हलमा भक्कानिने र हाम्रा दाजुभाइ–दिदीबहिनीमाथि गोली चल्दा निकै पीडा भयो भन्ने, तर बाहिर आएपछि गोली लागेका व्यक्तिलाई नै दोष दिने?’ भन्दै बास्कोटाले गृहमन्त्रीप्रति व्यंग्य गरेका छन्।
उनले सामाजिक सञ्जालमा ‘जवाफदेहिता भए राजीनामा देऊ’ भन्दै गृहमन्त्रीको जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनालाई लिएर बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन्।
घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ। घटनापछि गृहमन्त्री गुरुङको भूमिकामाथि प्रश्न उठाउँदै विभिन्न पक्षबाट आलोचना तथा राजीनामाको मागसमेत हुँदै आएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया